मृत्यु पत्र

 तिलक बिभु 

बौद्धिकता, अस्तित्वबोध र यथार्थबोध बिचको एक घनघोर बिद्रोहको नमुना हो मेरो मृत्यु । अवसरहरु संगै दौडिरहने सत्य र त्यस्को वरिपरि रहने स्वीकृत र अस्विकृती बिच को जीवन अनि गहिरो निद्रा र त्यस पछिको ऎठनिक सपना हो मेरो मृत्यु । अह मलाई पटक्कै सिकायत छैन मेरो मृत्यु संग । म खुसी छु , खुसी भन्दा पनि बढी सुखी छु। कहिलेकाही धमिलो याद आउछ मेरो त्यो मृत्युु यात्राको ।

फुरुक फुरुक गर्दै मठ देखि मसानघाट सम्मको यात्रा अनबरत फुस्फुसाइ रहने मलामिको ताँती, ताँती भित्रका अनावश्यक बिस्लेशण, मेरो मृत्यु संगीत/शंख ध्वनि र केही मृत्यु तस्बिरहरुलाइ कहिले काहीँ छातीमा टाँसेर मृत्युको क्यान्भासमा उतार्दै समुद्रको फेद देखि पहाडी उचाइ सम्म सुसेल्न मन लाग्छ ।

कुनै दिन कोशीको भुमरी माथिको चुच्चे ढुङ्गाबाट मृत्यु लाभ उठाउन नसकी निराश फर्किएको थिए । रातभर निद्रा लागेको थिएन । पटक पटक अग्ला रुखहरुका हाँगामा, निला दहहरुमा मृत्यु कल्पना गर्दै फर्कँदा आफुभित्रको कायरताले झनै गलाएको थियो। म शोकले गलेको थिए। मेरा दृष्टि गुम्दै गएका थिए। ढिस्कोलाई खाल्डो र खाल्डो लाई ढिस्को देखिन थालेका थिए। आफ्नै अनुहार यति सम्म कुरुप लाग्थ्यो कि अर्को पटक हेर्न नपरोस् चाहन्थे।

अँह मलाई पटक्कै मोह छैन आफ्नो शरीरको । पटक पटक आफ्नै शरीर अगुल्टोले पोलेर छिया छिया पारेको छु। अनेक जालझेलमा बाँधिएको धमिलो कुवाजस्तो कति सकस र साँगुरो छ मेरो जिन्दगी ।

जब म बिहानिको घाममा बस्दथें र मृत्यु कल्पना गर्दथें, घाम खिस्याउदै खिस्याउदै मेरो निधार, गर्धन, छाती हुँदै पेटमा कुल्चँदै माथि माथि पुगेर हात हल्लाउँदै भन्थ्यो हिम्मत गर आउ आफ्नो मृत्युु पत्र लिनको लागि।

जब म पुर्णिमाको मध्यरातमा निलो आकशको पछ्यौरिमा चन्द्रमालाइ हेर्दछु चिता मा चर चर पोलिइरहेको मेरो अनुहारको धब्बा देख्दछु। मेरो शरीर पोलिदा निस्केको कालो निलो धुवाँ फुस्फुसाउदै कता पुगेछ कुन्नी ! चन्द्रमाको सिधै पछाडी टिमटिमाइरहने ताराहरु क- कसका आत्मा होलान् ! ती ताराहरु मध्ये कुनै एक मेरो आत्मा होला । म बिस्तारै भावुक बन्दो रहेछु, कुनै दन्त्यकथाको बहुलठ्ठीत पात्र जस्तै । म चाहन्थे मेरो मृत्यु संगै मेरा बिद्रोहहरु, मलाई जिबनमा भाग लागेका अनैतिक र अनावश्यक कुराहरुलाइ सिद्धयाइदिउँ । सिद्धयाइदिउँ म असल छु या खराब छु भनी लिइने अनेक अग्निपरिक्षाहरुलाइ । मेरा अनावश्यक सम्बन्धका जालझेलहरु लाई । मैले उभिनुपर्ने कायर समयका कठघराहरुलाइ । मेरा नाजायज सम्बन्धका टुक्राटुक्रीहरु लाई । मेरा लत कुलत र अन्तरद्वन्द्व लाई एकै चोटी ।

अनि बादल मथिको दुनियाँमा मेरा प्रिय प्राणीहरु संग माथि माथि उडिरहुँ। मेरा साथमा हर्दम रहुन बिष नभएका सुनौला सर्प, राता निला प्वाँख भएका सुन्दर माछाहरु, बक आकारका मुडुला गाई भैंसी जसले म संग कुनै आग्रह पुर्बाग्रह राख्ने छैनन् । म उडिरहने छु पर पर सम्म राता सेता डाँडाहरुमा नठोक्किउन्जेल सम्म तब मात्र मेरो काब्यिक मृत्युुको रहर पुग्नेछ अनि बल्ल हिम्मतका साथ म मेरो मृत्युपत्रमा हस्ताक्षर गर्न सक्नेछु।

रत्ननगर, चितवन

२०७३, माघ

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'